काठमाडौं । गण्डकी प्रदेशका विपक्षी दलका सांसदहरू नयाँ सरकार दाबी गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलकहाँ पुगेका छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपकम मनाङ्गे)सहितको समर्थनमा ३१ सांसदहरु प्रमुख पौडेलकहाँ पुगेका हुन् । प्रदेश प्रमुख पौडेलले शुक्रवार (आज) नै २४ घन्टाको समय दिएर नयाँ सरकार गठन आह्वान गरेकी थिइन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद मनाङ्गेसहित ३१ सांसदहरुले गण्डकी प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् । यसअघि बिहीबार तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा मतदान गर्दा नै विपक्षी दलहरुसँग ३० सांसद थिए । त्यसमा मनाङ्गेले साथ दिँदा नयाँ सरकार बन्ने पक्का भएको हो । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको साथ चाहिन्छ । जहाँ, पोखरेलसँग ३१ सांसद छन् । बिहीबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्दा मुख्यमन्त्री गुरुङले २७ मत प्राप्त गरेका थिए ।
७१ वर्षीय नेता कृष्णचन्द्र नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । कृष्णचन्द्र राजनीतिक पृष्ठभूमिकै परिवारमा जन्मेर हुर्किएका हुन् । उनका बुबा प्रजातन्त्र सेनानी गोवर्द्धन शर्मा हुन् । गोवर्द्धन शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि थिए । उनकी आमा द्रौपदा शर्मा हुन् । कृष्णचन्द्र २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका हुन् । अब अहिले ७१ वर्षको उमेरमा राजनीति गरेको करिब ५० वर्षपछि उनी मुख्यमन्त्री बन्दैछन् ।