चितवन । चितवन जिल्लाको ग्रामीण भेगतर्फ कोरोना सङ्क्रमितको संख्या बढ्दै गइरहेको छ । चितवनका सबै स्थानीय तहको ग्रामीण भेगमा एन्टिजेन परीक्षण गर्दा पोजिटिभ रिपोर्ट बढी आएको हुनाले ग्रामीण भेगतर्फ सङ्क्रमितको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चितवनका सातैवटा पालिकाका १५ भन्दा बढी ठाउँमा एन्टिजेन परीक्षण भइरहेको बताए । उनले भने, ‘एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएकाहरु कोरोनाबाट सङ्क्रमित छन्, अहिले ग्रामीण भेगमा एन्टिजन परीक्षणमा पोजिटिभ देखिएका कारण सङ्क्रमितको संख्या ग्रामीण भेगतर्फ बढिरहेको छ ।’
स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीका अनुसार पिसिआर परीक्षणमा प्रतिएक सयमा १५ जना कोरोना सङ्क्रमित देखिएका छन्, तर एन्टिजेन परीक्षणमा प्रतिएक सय परीक्षणमा २५ जनाको हाराहारीमा पोजिटिभ देखिएका छन् । उनले भने, ‘यसबाट पुष्टि हुन्छ गाउँतिर अझै सङ्क्रमितको संख्या बाक्लै छ, जोखिम सहरमा भन्दा गाउँमा बढी हुँदै गएको छ ।’ सबै एन्टिजेन परीक्षण चितवनको ग्रामीण भेगतर्फ भइरहेको छ ।
एन्टिजेन परीक्षण गर्दा आधा घन्टामा रिजल्ट आउँछ । ग्रामीण भेगतर्फ एन्टिजेन परीक्षण गर्दा सहरका अस्पतालमा आएर लाइनमा बसेर पिसिआर परीक्षण गर्दाको सास्ती हटेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्रमा यतिबेला ८ ठाउँमा एन्टिजेन परीक्षण भइरहेको छ । भरतपुर महानगर स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले एन्टिजेन परीक्षणको रिपोर्ट आधा घन्टामै आउने बताउँछन् । उनी भन्छन्, ‘पहिला पिसिआर गर्न गाउँघरमा मानिसहरु सहर आउनुपर्ने बाध्यता थियो, अहिले गाउँमै एन्टिजेन परीक्षण हुँदा शंकास्पद सबै एन्टिजेन परीक्षण गराउन गए, जसका कारण गाउँतर्फ सङ्क्रमितको संख्या बढ्न गएको हो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार गत बुधबार चितवनमा ५२ जनाको एन्टिजन परीक्षण गर्दा १७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । गत मंगलबार ८३ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । गत सोमबार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
‘पिसिआरको तुलनामा एन्टिजेन परीक्षणमा कोरोना बढी देखिएको छ, एन्टिजेन सबै ग्रामीण बस्तीमै छ, सहरबाट सङ्क्रमण गाउँतिर सरेको जस्तो अनुभव भएको छ’, स्वास्थ्य कार्यालय प्रमुख तिवारीले भने, ‘जति एन्टिजेन परीक्षण बढायो त्यति कोरोना सङ्क्रमित बढिरहेका छन्, अझै ग्रामीण क्षेत्रतिर सङ्क्रमित प्रशस्त छन् भन्ने पुष्टि पनि भइरहेको छ ।’
धान रोप्ने सिजन सुरू हुने बेला भएको छ । रोपाइँको बेला मानिसहरुको चहलपहल बढी हुन्छ । यस्तो बेला ग्रामीण क्षेत्रतर्फ कोरोना सङ्क्रमण झन् बढ्ने अनुमान स्वास्थ्यकर्मीहरुले गरेका छन् । प्रमुख तिवारी भन्छन्, ‘सावधान हुन जरूरी छ, रोपाइँमा पनि मास्क अनिवार्य लगाउनुपर्छ, एकअर्काबीचको दूरी ३ मिटरभन्दा बढी राखेर रोपाइँलगायतका काममा जुट्दा कोरोना सङ्क्रमित हुने डर कम हुन्छ ।इचितवनपोस्ट बाट