काठमाडौं। केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कानुनी उपचारमा लागेको गठबन्धन प्रदेशहरुमा धमाधम सरकार परिवर्तनमा जुटेको छ । प्रधानमन्त्री ओलीविरुद्ध एकजुट भएको विक्षी गठबन्धन केन्द्र देखि प्रदेशसम्म नेकपा एमालेको ओली पक्षरहित सरकार निर्माणमा जुटिरहेको हो।
प्रदेश २ मा पनि एमालेको ओली खेमालाई जसपाको महन्थ ठाकुर समूहसँग मिलेर सरकार बनाउने प्रयासलाई विफल बनाउन लागिपरेको छ । जसपाको उपेन्द्र यादव समूहले काँग्रेस र माओवादी केन्द्रलाई प्रदेश २ को सरकारमा सहभागी गराएर ओली र ठाकुर समूहको गठबन्धनलाई सरकार बनाउन नदिन लागेको छ ।
कर्णाली प्रदेशमा एमालेको ओली खेमालाई सत्तामा जान असफल बनाइसकेको विपक्षी गठबन्धन गण्डकी र लुम्बिनी प्रदेशमा सरकार ढाल्न सक्रिय रहँदै आएको छ । प्रदेश १ मा पनि त्यसको तयारी भएको छ ।
प्रदेश १ मा माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता गरिसकेको छ । अब त्यहाँ पनि अविश्वासको प्रस्तावको तयारी भएको छ । काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्ष एकजुट भएमा मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार ढल्न सक्छ । विपक्षी गठबन्धन त्यसमै लागेको छ ।
बागमती प्रदेशमा एमालेको ओली खेमाका डोरमणि पौडेल मुख्यमन्त्री छन् । माधव नेपाल समूहले विद्रोह गरेमा पौडेल नेतृत्वको सरकार ढल्छ । अहिले त्यसको तयारी भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिदैछन् । एमालेको माधव नेपाल समूहको संसदीय दलमा बहुमत छ । आज एमालेमा को कता भन्ने विश्वासको मत लिंदा निक्र्यौल हुनेछ । ओली समूह अल्पमतमा रहेकाले त्यहाँ विपक्षी गठबन्धनलाई चुनौती दिन सजिलो छैन ।
केन्द्रमा पनि सर्वोच्च अदालतको आदेशले ओली सरकार टिक्ने या नटिक्ने टुंगो लाग्छ ।