काठमाडौं। नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । एमालेको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि बसेको एमालेको बैठकले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।
बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ ।
पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ । बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।