जनकपुरधाम।पत्रकार सुजीतकुमार झाद्वारा मैथिली भाषामा लिखित अनुसन्धानमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’को लोकार्पण गरिएको छ । रामजानकी विवाह सम्बन्धमा लेखिएको सो पुस्तकको प्रकाशन मधेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको छ।
६८८ पुष्ठको सो पुस्तकको यसअघि संघीय संस्कृति मन्त्रालय विद्यापति पुरस्कार कोषले एक लाखको पुरस्कार प्रदान गरेको थियो । पुस्तकको लोकार्पण मधेश सरकारको भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले संयुक्त रुपमा गरेका हुन् ।
पुस्तकलाई मधेश प्रदेशभित्र रहेका प्रदेश नगरपालिका गाउँपालिका, मन्त्रालय र प्रमुख कार्यालयमा राखिने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले जानकारी दिए । भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले मैथिली पुस्तकालय ठाउँमा बनाउन सुझाब दिए ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको पुस्तक लोकार्पण समारोहमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनकपुरधामको पहिचान रामजानकीसँग रहेकाले यो पुस्तकले जनकपुरधामको पर्यटन बढाउन सहयोग गर्ने बताए ।
सुजीतको मैथिली भाषामा यो दशौ कृति हो ।