चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैँडा मरेको विषयमा छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । वन तथा वातावरण मन्त्रालयले वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा आज मङ्गलवार पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा वन तथा वातावरण मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल सदस्य छन्।
कार्यदललाई स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्न १० दिनको समय दिइएको छ । यो समितिले स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण, सडकको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भएको वा नभएको, सडक निर्माणका क्रममा कसको कस्तो जिम्मेवारी रहेको, गैंडा मारिने गरी भएको लापरवाहीमा को जिम्मेवार रहेको र कारबाही गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा सुझाव पेश गर्नुपर्ने कार्यादेश पाएको छ।
गएको ९ गते दिउँसो चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको पूर्व–पश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परि गैँडा मरेको थियो ।
वन तथा वातावरण मन्त्रालयले यही विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।