चितवन। चितवनको माडी नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै खोप अभियानलाई पनि तीव्रता दिइएको छ । माडी स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालले माडी नगरपालिकामा २० हजारले पूर्ण खोप लगाइसकेको जानकारी दिए । माडीमा १० वटा खोप केन्द्रबाट खोप लगाउने काम भइरहेको उनी बताउँछन् ।
खनालका अनुसार १८ वर्ष माथि उमेर समूहलाई खोप लगाउने अभियान १० स्थानबाट चलाइएको छ । उनले भने, ‘कोरोना संक्रमित बढिरहँदा हामीले खोपलाई प्राथमिकता दिइरहेका छौँ । अधिकांशले खोप लगाइसकेका छन् ।’
माडी नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै नगरपालिकाले जोखिम न्यूनीकरणको लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ । माडी नगरपालिकाको स्वास्थ्य शाखाले अग्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राखेको छ ।
माडीमा रहेको अस्पतालमा समेत कोरोना संक्रमितको उपचार भइरहेको छ । अहिलेको नयाँ संक्रमित गम्भीर प्रकृतिका नभएका हुनाले संक्रमित होम आइसोलेसनमा नै रहेका माडी नगरपालिकाले जनाएको छ । माडीमा दैनिक २÷३ जनाको दरले संक्रमितको संख्या बढिरहेको छ । माडी नगरपालिकामा ४ ठाउँबाट निःशुल्क एन्टिजेन परीक्षण पनि भइरहेको छ ।