चितवन । न्यून चापीय प्रणाली कमजोर भएसँगै अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ।
महाशाखा विवरण अनुसार आज चितवनको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ। भोलिबाट चितवनमा झन् जाडो बढ्ने अनुमान मौसम विभागको छ । चितवनको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ ।
आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार यो प्रणालीका कारण सोमबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानमा हल्का वर्षा हुनेछ ।
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । यो मौसम प्रणाली मंगलबारदेखि कमजोर हुँदै जाने छ ।
यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत केही असर पर्न सक्ने साथै तापक्रममा पनि गिरावट हुन सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ, महाशाखाले भनेको छ ।