चितवन। कोरोना संक्रमणको तेस्रो लहर फैलिरहेको अवस्थामा भरतपुर महानगरपालिकाले १० स्थानबाट निःशुल्क एन्टिजेन परीक्षण गरिरहेको छ। चितवनको सात पालिकामध्ये सबैभन्दा धेरै संक्रमित भएको ठाउँ हो भरतपुर महानगरपालिका। भरतपुर महानगर स्वास्थ्य शाखाका अनुसार संक्रमितको संख्या बढिरहेको समयमा परीक्षणलाई पनि बढाइएको छ ।
भरतपुर महानगर स्वास्थ्य शाखाका प्रमुख दीपक सुवेदीले भरतपुर महानगरको वडा नं ६, ९, १४, १५, १६, १९, २२, २५, २६, २७ मा एन्टिजेन परीक्षण भइरहेको बताए । उनले भरतपुर महानगरमा १८ वर्ष माथिका ९० प्रतिशतले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेको बताए । महानगरका १८ वर्षमाथिका ८० प्रतिशतले कोरोनाविरुद्धको दोस्रो खोप लगाइसकेका उनी बताउँछन् ।
भरतपुर महानगरले कोरोनाको उपचार गर्ने अस्पतालहरु भरिँदै गए आइसोलेसन सेन्टरहरु व्यूताउने तयारी गरिरहेको छ । अस्पतालहरुमा कोरोना संक्रमितहरु उपचारमा आउनेक्रम बढे पनि भरिएका छैनन् । प्रमुख सुुवेदीले भने, ‘अस्पतालहरु भरिन थाल्यो भने महानगरले आइसोलेसनहरु सञ्चालनमा ल्याउने तयारी गर्नेछ ।’
भरतपुर महानगरभित्र पर्ने भरतपुरको सरकारी अस्पताल र दुई मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार भइरहेको छ।