चितवन । सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदा वर्षेनि बढ्दो सडक दुर्घटनाका कारण जिल्लाले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाइरहेको छ। चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा चितवनमा सवारी दुर्घटनाबाट ७१ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक कार्यलय चितवनको तथ्याङ्क अनुसार पछिल्लो ६ महिनाको अवधिमा महिनाको सरदर ४४ दुर्घटना हुने गरेका छन्, जसमा १२ जनाको मृत्यु हुन्छ भने ७४ जना घाइते हुन्छन् । विभिन्न अध्ययन र सरकारी निकायको तथ्याङ्कले समेत ६० प्रतिशत दुर्घटना चालकको कारण हुने गरेको औंल्याउँछ।
चितवनमा चालु आर्थिक वर्षको ६ महिनामा २६३ वटा सवारी दुर्घटना भएकोमा ७१ जनाको मृत्यु र ४४४ जना घाईते भएका थिए ।
जिल्ला ट्राफिक कार्यलय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापा पनि दुर्घटना बढी चालकको लापरवाहीका कारण हुने गरेको बताउँछन् । थापाले सवारीसाधनको चापको तुलनामा सडकको स्तरोन्नति नहुनु, सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु र भार बोक्नु पनि दुर्घटना संँगै मानवीय क्षति हुनुको मुख्य कारण रहेको बताए।
यथार्थमा भने हाम्रो यातायात व्यवस्थाको भद्रगोलले चालकलाई सजग र जिम्मेवार बनाउन नसकेकै कारण कमजोरीले खेल्ने ठाउँ पाइरहेको छ। यति मात्र होइन, सडक सुरक्षा प्रणाली नै नहुँदा यातायात सम्बन्धी हरेक पाटोले दुर्घटनाको जोखिम बढाइरहेको विज्ञहरू बताउँछन्।
के हुन सक्छ समाधानका उपाय ?
सर्वप्रथम सडक दुर्घटनासम्बन्धी जनचेतना जगाउन जरुरी हुन्छ। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले गर्दै आएको कारबाहीसँगै सचेतना अभियानलाई पनि निरन्तरता दिन आवश्यक छ।
यसका साथै लागुऔषध तथा मनोद्दिपक पदार्थ सेवनका जाँच पनि गर्न जरुरी छ। निश्चित गति, सीमा, मोटरसाइकल चालक र पछाडि बस्ने दुवैले हेलमेट प्रयोग, ड्राइभर र अगाडि बस्ने यात्रुले सिट बेल्ट प्रयोग, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोगमा प्रतिबन्धजस्ता नियम लागू गर्न बलियो कानुन आवश्यक छ। त्यसको नियमनका लागि पनि जोड दिन जरुरी छ। त्यस्तै सवारी साधनको सुरक्षा मापदण्ड पनि महत्वपूर्ण छ। सबै सवारी साधनको तोकिएको निकायबाट यान्त्रिक परीक्षण गराउन, सिट बेल्टको उपलब्धता सुनिश्चित गर्न आवश्यक छ।