काभ्रे । काभ्रेको बेथानचोकमा भेटिएको सेतो मृगको पाठो सदर चिडियाखानामा लगिएको छ । बेथानचोक गाउँपालिका- २ को जंगलमा घाँस काट्न गएका धिरोज घिमिरेले भेट्टाएको मृग प्रहरी चौकी हुँदै जिल्ला वन कार्यालय काभ्रेलाई बुझाइएकोमा त्यहाँबाट पालनषोषणका लागि सदर चिडियाखाना जाउलाखेलमा पठाइएको कार्यालयले जनाएको छ ।
सेतो रङ्गको मृगको पाठो ढुंखर्क प्रहरी चौकीमा बुझाइएको र त्यहाँबाट जिल्ला वन कार्यालयमा बुझाइएको थियो । तर पाठो सानो भएकाले औषधोपचार, स्याहार सुसार र लालनपालन गर्नुपर्नेमा त्यस्तो व्यवस्था कार्यालयमा नभएकाले सदर चिडियाखानामा बुझाइएको सहायक वन अधिकृत हेमबहादुर थापाले जानकारी दिए ।
मृग २ महिनासम्मको हुनसक्ने अनुमान गरिएको छ । मृग सामान्यतया खैरो रंगको हुने भएपनि यो सेतो रहेको र यस्तो हुनु अनौठो रहेको पनि स्थानीयबासिन्दाले बताएका छन् । चिडियाखानामा रहेको यो मृगको पाठो अब चिडियाखाना घुम्न जाने सबैले देख्न पाउने भएका छन् ।