काठमाडौं । मन्त्रीबाट पदमुक्त भएको आज ११ दिन भैसक्दापनि ७ मन्त्रीले अझै मन्त्रिनिवास छोडेनन् । जेठ ६ गते नै मन्त्रीको जिम्मेवारी खोसिएका उनीहरुले क्वार्टर छोडेका छैनन् । मन्त्रीको जिम्मेवारी खोसिनेमा पूर्व माओबादी केन्द्रका नेताहरु छन् । सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएको आज दुई साता बित्न लाग्दापनि मन्त्रिक्वार्टर नछोड्नु लाजमर्दो भएको भन्दै अहिले सार्वजनिक रुपमै पूर्व मन्त्रिहरुको आलोचना भैरहेको छ ।
उनीहरु पूनः नियुक्तीको आशामा रहेको बुझिएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अझैसम्मपनि उनीहरुलाई पूनः नियुक्ती गर्ने मनसाए नभएको स्रोतको दाबी छ ।
पदमुक्त हुनेमा गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा लामा थिए । उनीहरु सातै जना पूर्व माओवादी केन्द्रबाट सुरुमा मन्त्री बनेका थिए । तर, तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादमा उनीहरु प्रधानमन्त्री ओलीको पक्षमा उभिएका थिए ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गरिसकेका छन् । तर, संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अहिले उक्त रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई जारी छ ।