काठमाडौं। च्यासल यूथ क्लबसँग अंक बाँडेपछि संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको अन्तिम खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।
पाँचौँ मिनेटमा मैदानको दायाँ भागबाट फोडे फोफनाको पासमा उत्तम राईको हेडर च्यासलका डिफेन्डर अभिषेक लिम्बुले गोल लाइनबाट बचाउँदा संकटा अग्रता दिनबाट चुकेको थियो ।
१०औं मिनेटमा संकटाले पुनः अग्रता लिने अवसर पायो तर त्यसको सदुपयोग भने गर्न सकेन । उत्तम राईको प्रहार च्यासलका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गर्दा रिबाउन्डमा प्राप्त बलमा अनमार्क रहेका फोडे फफोनाको प्रहार बारमा लाग्दै फर्कियो ।
१९औं मिनेटमा रुमेश बर्तौलाको पासमा विकास मेराग्लियाको प्रहार बाहिरिँदा च्यासल निराश बनेको थियो ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा संकटाका नीरज बस्नेतको फ्रिककमा जोर्डन जुनियरले मिलाइदिएको पासमा उत्तमको प्रहार बाहिरिएको थियो
५८औं मिनेटमा संकटाका अमित तामाङको फ्रिकिक त्च्यासलका गोलकिपर प्रदीप भण्डारीले विफल पारे । ६३औं मिनेटमा सन्तोष साहुखलको पासमा राजीव लोप्चनको प्रहार संकटाका गोलरक्षक राजुबाबु थापाले उत्कृष्ट बचाउ गर्दा च्यासल निराश बनेको थियो ।
७४औं मिनेटमा टिकाराज गुरुङको पासमा वान भर्सेज वानमा नीरज बस्नेतको प्रहार च्यसालका रक्षक अभिषेकले गोललाइनबाट क्लियर गरे ।
संकटा सात खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ । च्यासलमाथि जित हात पारेको भए संकटा दोस्रो स्थानमा उक्लिने थियो ।
मनाङ सात खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा छ भने दोस्रो स्थानको मच्छिन्द्रको १४ अंक छ । च्यासल भने सात खेलमा ५ अंकसहित १३औं स्थानमा छ ।
आज नै भएको पहिलो खेलमा थ्री स्टारले जावलाखेल यूथलाई २-१ ले पराजित गर्यो भने दोस्रो खेलमा मनाङले बीबीसीलाई १-० ले पराजित गर्यो ।