चितवन । माडीका विकासप्रेमी योद्धा लीलाधर आचार्य हामी सबैबाट विदा भएका छन् । आचार्यको भरतपुर १० स्थित निवासमा पुस १६ गते राति निधन भएको हो । ६२ वर्षको उमेरमा उनको निधन भएको परिवारले जनाएका छन् । उनको आज देवघाटमा अन्त्येष्टि गरिएको छ । माडीको विकासमा अहोरात्र खटिएका आचार्य हाल नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य थिए ।
साविक कल्याणपुर गाउँ पञ्चायत माडीको जनपक्षीय प्रधानपन्च बनेदेखि उनी समग्र माडीको विकासमा होमिएका हुन् । दुई कार्यकाल तत्कालीन जिल्ला विकास समिति चितवनको सदस्य बनेका आचार्य माडी क्याम्पस वसन्तपुरको संस्थापक अध्यक्षसमेत हुन् । जनकल्याण मावि कल्याणपुरको संस्थापक नेतृत्व लिएका आचार्य विशेष गरी शिक्षा क्षेत्र विकासमा तल्लीन थिए ।
नेकपा एमाले चितवनले आचार्यको निधनप्रति गहिरो समवेदना प्रकट गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य पार्वती रावलले विकासप्रेमी नेता आचार्यको निधनले समग्र माडीको विकासप्रेमी योद्धा नै ढलेको अनुभूति भएको बताइन् । आचार्यको असामयिक निधनले नेकपा एमाले जिल्ला कमिटी चितवनले शोक वक्तव्य जारी गर्दै जनप्रिय तथा विकासप्रेमी योद्धा गुमाउनु परेको जनाएको छ । वक्तव्यमा मृतआत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनिएको छ । आचार्यको निधनले पार्टीले एक होनहार पार्टी संगठक गुमाएको केन्द्रीय सदस्य रावलले बताइन् ।