चितवन । एमाले चितवनको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुने भएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य पार्वती रावलका अनुसार जिल्ला अधिवेशनको लागि आज ९८ वडा र दुई वटा इकाइ शाखा कमिटीबाट प्रतिनिधि छनौट हुनेछन् ।
नेकपा एमाले चितवनका इन्चार्ज देवी ज्ञवालीका अनुसार चितवन जिल्लाका ९८ वटा वडाका इकाइ र दुई वटा शाखा कमिटीका इकाइ गरी एक सय वटा इकाइबाट करिब ४५० प्रतिनिधि छनौट हुनेछन् । प्रत्येक वडा र इकाइमा ३०० सदस्य बराबर तीन जना प्रतिनिधि छनौट हुनेछन्। तीन प्रतिनिधिमा एक जना महिला अनिवार्य गरिएको छ ।
यस्तै सात पालिकालाई आधार मानेर एक सय दलित सदस्य बराबर तीन जना प्रतिनिधि छनौट हुनेछन् । ती तीन जना प्रतिनिधि मध्ये एक जना दलित महिला अनिवार्य गरिएको छ । यस्तै मुस्लिम, अपाङ्गता, मधेशीबाट जिल्लालाई आधार मानेर तीन तीन जना प्रतिनिधि आज छनौट हुनेछन् । ती तीन जना प्रतिनिधिमध्ये एक एक जना महिला अनिवार्य गरिएको छ ।
जिल्ला समितिमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक-एक र उपसचिवमा दुई जनासँगै १२० सदस्यीय कार्यसमिति बन्नेछ । जिल्लामा छनोट भएका प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछ । नेता ज्ञवालीले नेतृत्वदेखि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुमा निर्विरोध समिति गठन गर्न पहल भइरहेको बताए । यसअघि एमाले चितवनमा विष्णु घिमिरे, केदार न्यौपाने, युवराज कार्की, नरबहादुर खाँण, डम्बर श्रेष्ठ, हरि सापकोटा, देवी ज्ञवाली, विजय सुवेदी, कृष्ण खनाल, जेएन थपलिया, कृष्णभक्त पोखरेलले नेतृत्व गरिसकेका छन् ।