चितवन । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा निर्वाचित भएका चितवनका पाँच नेता छन् । पाँच नेतामध्ये कोही मुस्किलले निर्वाचित भएका छन् भने कोही भारी मत ल्याएर निर्वाचित भएका छन् । आदिवासी जनजातितर्फ चितवनका राज्यमन्त्री उमेश श्रेष्ठ दोस्रो स्थानमा निर्वाचित भएका छन् । उनी भारी मतले निर्वाचित भएका हुन् । महाधिवेशन प्रतिनिधिमा मुस्किलले जितेका उमेश श्रेष्ठ केन्द्रीय सदस्यमा भारी मतले जिते ।
उमेश श्रेष्ठ २१४४ मत ल्याएर निर्वाचित भएका हुन् । आदिवासी जनजातितर्फ विजयी भएका चितवनका अर्का नेता टेकप्रसाद गुरुङ १७७८ मत ल्याएर निर्वाचित भए । उनले आठौँ नम्बरमा मुस्किलले जितेका हुन् । चितवनकी अन्जनी श्रेष्ठ २१२४ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएर चितवनका युवा नेता दिनेश कोइरालाले इतिहास रचेका छन् । उनी १७८१ मत ल्याई निर्वाचित भए । कोइरालाले पनि मुस्किलले जितेका हुन् । दलिततर्फ चितवनकी शान्ति परियार विक निर्वाचित भएकी छन् । उनले १७९५ मत ल्याएकी थिइन् ।