सप्तरी। मधेसमा जातीय विभेदको चपेटामा परेको समुदाय हो मुसहर । विभेदको सिकारमा परेको उक्त समूदाय शिक्षाको पहुँचबाट पनि टाँढा रहने गरेको छ ।
आर्थिक, सामाजिक लगायका विषयमा विभेदको सिकार हुँदा शिक्षाबाट पनि वञ्चित हुन परेको राजविराज ७ का शिक्षक रामसेवक साह बताउँछन् ।
उनले भने, ‘अरू ठाउँको कुरा गर्नु भन्दा पनि सप्तरी सदरमुकामको छेउमा बसोबास गर्ने अधिकांश मुसहरका छोरा र छोरी अहिले पनि शिक्षाबाट बञ्चित छन् ।’
सामाजिक विभेदमा परेको र कमजोर आर्थिक अवस्था भएपछि सहयोगी हातहरूको भरमा पर्ने उनीहरुमा अझै शिक्षाको आवश्यकता गम्भीर रुपमा नदेखिएको उनी बताउँछन् ।
कतिपय स्थानमा भने मुसहर परिवारले उदाहरणीय काम गरिरहेको पाउन सकिन्छ । छिन्नमस्ता गाउँपालिका ५ लोखरमका मुसहर परिवारहरूले उदाहरणीय काम गरेको सप्तरी राजगढ गाउँपालिकाका शिक्षक श्यामप्रित मण्डलले बताए ।
मुसहर समुदमयकै बालबालिकाका लागि छिन्नमस्ता गाउँपालिका-५ लोखरममा विद्यालय भवन निर्माण गरि उनीहरूकै समुदायका बालबालिकालाई नियमित पठनपाठन गराउनु उदाहरणीय काम रहेको स्थानीय बुद्धिजिवीहरू बताउँछन् ।
आफ्ना छोराछोरीलाई अन्य विद्यालयमा दलित भन्दै विभेद गर्न थालेपछि श्रमदानबाट विद्यालयमा कक्षा कोठा बनाइएको छ ।
स्थानीय लुखिया सदाका अनुसार दलित भएका कारण कक्षा कोठामा पढ्ने वातावरण नभएपछि श्रमदान र चन्दा संकलन गरेर कक्षा कोठा बनाइएको हो ।
राष्ट्रिय प्राथमिक विद्यालयमा बस्तीका बालबालिकाहरू कक्षाकोठा बनाइएपछि विभेदरहित वातावरणमा पठनपाठन गर्दै आएका छन् ।
‘दलितमा पनि अन्य जातजातीमा जस्तै पढेर ठूलाठूला पदमा जागिर खान थालेका छन्।हाम्रो समुदायमा त्यस्तो हुन सकेको छैन्’ स्थानीय संझा सदाले भनिन् ,’बल्लतल्ल पढ्ने माहोल बन्दै छ, अझ पढाउनका लागि जग्गा र भवन चाँहिने हुनाले हामीले दुई छाक भोकभोकै बसेर भए पनि खुशीले चन्दा दिँदै छौँ ।’
मुसहर बालबालिकाको पढाइ प्रतिको उत्सुकता देखेर विद्यालय हातासँगै जोडिएर रहेको आफ्नो ६ धुर जग्गा दान गरेको स्थानीय समाजसेवी तथा नेता जयप्रकाश ठाकुरले बताए ।
दलित राष्ट्रिय प्राथमिक विद्यालयमा भवन र कक्षाकोठा अभावका कारण एउटै कोठामा बहुकक्षा सञ्चालन गर्ने बाध्यता भएकोले स्थानीय निकाय तथा सबैलाई सहयोगका लागि स्थानीयले आग्रह गरेका छन् ।सुधा देव/ न्युज कारखाना