चितवन । चितवनको भरतपुरस्थित प्रदर्शन केन्द्रमा पुस २ गतेदेखि ४ गतेसम्म औद्योगिक प्रदर्शनीको छैटौँ संस्करण हुने भएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवद्र्धनको अपरिहार्यतालाई महसुुस गर्दै उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले औद्योगिक प्रदर्शनी गर्न लागिएको बताए ।
उनका अनुसार यो प्रदर्शनी छैटौँ संस्करण हो । चितवन उद्योग संघ र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । २०६६ सालदेखि आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको विस्तारित संस्करण स्वरुप यसवर्षदेखि नियमित वार्षिक कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी गर्न लागिएको हो ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरूलाई सहज र किफायती बनाउन मद्दत पुऱ्याउने ससाना औजार उपकरणदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरूको प्रदर्शनीसहित डेमोको अवसर प्राप्त हुनेछ ।
प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरू, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरू, आधुनिक औद्योगिक प्रविधिवारे जानकारी राख्न इच्छुक व्यवसायिक उत्पादकहरू, नेपाली उद्योगका सञ्चालकहरु, लगानीकर्ताहरू तथा उच्च व्यवस्थापकहरू, उद्यमीका व्यवसायिक परामर्शदाताहरू, वित्तिय सेवा प्रदायकहरू, खोज अनुसन्धानकर्ता, शैक्षिक संघ संस्थाका प्रतिनिधिहरु अवलोकनकर्ताको रूपमा रहनेछन् ।
उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउन र विश्व बजारका नविनतम प्रविधिहरुको अनुसरण मार्फत औद्योगिक उत्पादकत्व वृद्धि सहित दिगो उद्यमशिलताका लागि उपयुक्त माध्यम बन्ने विश्वास लिइएको यस प्रदर्शनीमा हुने स्वदेशी एवम् विदेशी उद्योगीहरू बीच प्रत्यक्ष भेटघाट र छलफलको माध्यमबाट स्वदेशी औद्योगिक उत्पादनको विश्व बजारमा
पहुँच पुग्ने विश्वास लिइएको छ ।
उद्यमी बन्न चाहने युवाहरुलाई लक्षित गरी प्रदर्शनीको दोश्रो दिन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्धन केन्द्र र चितवन उद्योग संघको तर्फबाट कार्यपत्र प्रस्तुतिकरण सहित विशेष गोष्ठी तथा अन्तरक्रिया आयोजना गरिनेछ । साथै, प्रदर्शनी अवधिभर व्यवसायिक परामर्शका लागि छुट्टै स्टलको व्यवस्था गरिनेछ ।
प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवा मार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भई दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
तिनै तहका सरकारबाट प्रवर्द्धित यस प्रदशनीमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कर्णाली प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र चितवनका
स्थानीय पालिकाहरुले प्रवर्धन सहयोग सहित सिफारिस गरेका ६० स्टल राष्ट्रिय आविष्कार केन्द्रको विशेष स्टल सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहनेछन् । प्रदर्शनीको बैकिङ पार्टनरको रुपमा राष्ट्रिय वाणिज्य बैंक र पेन्टस् पार्टनरको रुपमा रोयल पेन्टस् प्रालि रहेको छ ।
औद्योगीकरणका लागि विश्वमा नै सफल र उत्कृष्ट ठहरिएका प्रविधिहरूसँग साक्षात्कारको अवसर सहित अनुसरणका लागि उत्प्रेरणा मिल्ने विश्वास लिइएको यस प्रदर्शनी नेपालको औद्योगिक विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।