चितवन। नारायणी नदी किनारमा मङ्गलबार साँझ सचेतनामूलक सांस्कृतिक कार्यक्रम ‘सप्तरङ्ग–३’ सम्पन्न भएको छ । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गरेको ‘सप्तरङ्ग’मा राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए ।
उक्त कार्यक्रम सातवटै प्रदेशमा आयोजना गरिँदै छ । पूर्वका विभिन्न सहरमा कार्यक्रम सम्पन्न गरेर सप्तरङ्ग समूहले यहाँ कार्यक्रम गरेको हो। ब्रोडकाष्टिङका सञ्चालक गेहेन्द्र घिमिरेले ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति’ भनाइलाई जनमानसमा कलामार्फत प्रष्ट्याउनु नै ‘सप्तरङ्ग’को मूल आशय रहेको बताउनुभयो । पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित थियो । कला संस्कृतिलाई उजागर गर्दै यही मङ्सिर २४ गतेदेखि काँकडभिट्टाबाट सुरु भएको ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा पुगेर अन्त्य हुने उहाँले जानकारी दिनुभयो ।
काँकडभिट्टालगत्तै मङ्सिर २६ गते जनकपुर, २८ गते चितवन, पुस १ मा नेपालगञ्ज, पुस ३ मा सुर्खेत, पुस ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ । ‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडल उषा उप्रेतीलगायतका कलाकारको सहभागिता हुने गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले ‘सप्तरङ्ग–३’ कार्यक्रमले मनोरञ्जनसँगै सचेतना जगाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस कार्यक्रमबाट मनोरञ्जनमात्रै नभएर सचेतनाका लागि महत्वपूर्ण कडी बन्ने छ ।” यसले जिल्लाको आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन सहयोग पुगेको उहाँको भनाइ छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले समुदाय र प्रहरीबीचको सम्बन्ध सुमधुर बनाउनका लागि प्रहरीको सहकार्यमा कार्यक्रम गरिएको बताउनुभयो ।