चितवन । कोभिड–१९ को दोश्रो लहरको महामारीमा चितवनको भरतपुर अस्पताललाई संघिय सरकारले रु. १२ करोड ९२ लाख ७० हजार रुपैंया बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना अन्र्तगत अस्पतालमा आवश्यक भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क बनाउन सो रकम दिने भएको हो ।
भरतपुर अस्पतालमा भेन्टिलेटर,अक्सिजन प्लान्ट,अक्सिजन ट्याङक र एचडियू स्थापना गर्नका लागि बजेट विनियोजन भएको चितवनका सांसद कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीको चाप बढ्दै गएपछि स्वास्थ्य पूर्वाधार विस्तार गर्न अर्थमन्त्रीलगायतसँग छलफल गरेर बजेट व्यवस्थापन गर्न सकिएको सांसद पोखरेलले बताउनुभयो ।
“यो भरतपुर अस्पतालका लागि ठूलो रकम हो,उहाँले भन्नुभयो’,यसको आवश्यकताका आधारमा खर्च गरिनेछ ।” उहाँले भरतपुर अस्पताललाई संघिय सरकारको तर्फबाट बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो । यस्तै सरकारले तीन दिनभित्र खरिद गर्न पाउनेगरी सार्वजनिक खरिद नियमावली संसोधनको अन्तिम चरणमा रहेको समेत पोखरेलले बताउनुभयो ।
सरकारले बजेटको व्यवस्था गरे पनि आउन समय लाग्ने भएकाले बजेटको निकासा छिटो गरिदिन वा सोही बजेट बराबरको सामान तत्काल उपलब्ध गराइदिनुपर्ने भरतपुर अस्पतालको माग छ । सङ्घीय सरकारले प्रदेश सरकार मार्फत बजेट पठाउने भएको छ ।