चितवन । नेपाली कांग्रेस चितवन अधिवेशन समयमा नहुने भएको छ । कांग्रेसको १४ औँ महाधिवेशनपछि बल्ल चितवनको जिल्ला अधिवेशन हुने भएको छ । चितवनलगायत विवाद भएका १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि हुने भएको छ ।
निर्वाचन अधिकृतले राजीनामा दिएपछि चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपश्चात् समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार गर्ने निर्णय गरेको छ । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत हालसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
पार्टीको क्रियाशील सदस्यतालगायतको विवादका कारण सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपुर (बर्दघाट सुस्तापूर्व), बाँके, अछाम, कैलाली, तथा प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी छ । १६ जिल्लाको अधिवेशन अब महाधिवेशनपछि गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।