चितवन। चितवनमा शुक्रबारबाट नेकपा एमालेको १०औँ महाधिवेशन हुँदै छ । मुलुकका विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरूले चितवनका होटेल भरिभराउ भएका बेला जनकपुर, महोत्तरी र सर्लाहीबाट आएका एमाले कर्याकर्ताले भने सडकमै खाना पकाएर खाएका छन् ।
जनकपुरबाट चारवटा जिपमा ५७ जनाको टोली शुक्रबार बिहान ८ बजे चितवन आइपुगेको छ । सर्लाहीको बरहथवा नगरपालिकाबाट दुईवटा बसमा ११५ जना आएका छन् । भरतपुरस्थित बसपार्कमा साढे ८ बजे आइपुगेर उनीहरूले खाना पकाएर खाएका हुन ।
ग्यास, तरकारी, प्लेट, पानी आफैँ ल्याएको कार्यकर्ता सुदिप प्रसाद उप्रेतीले जानकारी दिए ।
महोत्तरी गौशालाबाट २५० जना कार्यकर्ता ५ बजे बसपार्क आइपुगेका थिए । चामल र तरकारी आफनै कार्यकर्ताबाट उठाएको गौशाला नगर कमिटी अध्यक्ष अजय कुमार कुशवाहले जानकारी दिए ।
होटेलमा बसेर र्खर्च गर्नुभन्दा आफै ल्याएर पकाएर खाएको उनले बताए । उनीहरू खाना खाइसकेर महाधिवेशनस्थल नारायणी नदी किनारमा जाने तयारीमा छन् ।