चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा कति ट्राफिक प्रहरी खटिएलान् ? पाँच लाख जनतालाई व्यवस्थित गर्न थोरै ट्राफिकले धान्न मुस्किल हुन्छ । चितवन जिल्लामा भएका ट्राफिकबाहेक थप एक सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । महाधिवेशनको उद्घाटनमा धेरै सवारीसाधन आउने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप प्रहरी परिचालन गर्न लागिएको हो । यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले महाविधेशन उद्घाटनका दिन जिल्लाको यातायात व्यवस्थापनलाई सहज बनाउन थप ट्राफिक प्रहरी परिचालन गर्ने गरी काम भइरहेको जानकारी दिए । मङ्सिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रित गरेर ट्राफिक प्रहरीको थप जनशक्ति परिचालन गर्ने गरी समन्वय भएको भुर्तेलले जानकारी दिए । चितवनमा ४६ ट्राफिक छन् । यसबाहेक थप १०० ट्राफिक थप्ने एमाले चितवनले जनाएको छ ।