चितवन । नेकपा एमालेको यही १० देखि १२ गतेसम्म चितवनमा हुने १० औँ महाधिवेशनको लागि सुरक्षा व्यवस्था कडा पारिने छ ।महाधिवेशनको उद्घाटन हुने स्थान नारायणी नदी किनारमै पुगेर सुरक्षा निकायसँग एमाले चितवनले छलफल गरेको छ ।
एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार महाधिवेशनमा सम्पूर्ण सरक्षा व्यवस्थाको लागि चितवन प्रहरीसँग फिल्डमै पुगेर छलफल गरिएको छ ।
चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले चितवनमा एमालेको महाधिवेशनको लागि सुरक्षाको व्यवस्थाको सम्पूर्ण तयारी भएको बताए । उनले भने, ‘महाधिवेशन लक्षित विशेष किसिमको सुरक्षा तयारी गरेका छौँ । महाधिवेशनको लागिमात्रै एक हजार सुरक्षाकर्मी खटिनेछन् ।’ उनका अनुसार बाहिरी जिल्लाबाट पनि सुरक्षाकर्मी झिकाइनेछ ।’
उनले प्रत्येक दिन दिनरात सुरक्षाकर्मी फिल्डमा खटिएर सुक्ष्म निगरानी गर्ने बताए । प्रमुख अधिकारीले भने, ‘सुरक्षा योजना बनाइरहेका छौँ । छलफल गरिरहेका छौँ । अहिलेसम्म कुनै चुनौती देखिएको छैन ।’