काठमाडौँ। युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले आजको गोरखापत्रमा सार्वजनिक सूचना निकालेर राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो। खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा (२) अनुसार योग्यता पुगेका र अनुभव प्राप्त इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको कार्तिक १ गते राखेपका सदस्य–सचिव रमेश सिलवाललाई बर्खास्त गरेको थियो। सिलवाललाई केपी ओली नेतृत्वको सरकारले २०७६ साल असारमा सदस्यसचिवमा कार्यकालको लागि नियुक्त गरेको थियो।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा (३) अनुसार गठित सदस्य सचिव सिफारिस समितिले राखेपको सदस्य सचिव छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ।