चितवन । चितवनमा कोरोना महामारी नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका गम्भीर नभएको भन्दै युवाहरुले आज मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्ले कार्डसहित प्रदर्शन गरेका छन्।
युवाहरुले ‘यो महामारीमा दायित्व स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मात्रै ?’, ‘आइसियू नभएर जाँदै छ ज्यान, सिडिओ साबको कता छ ध्यान’, ‘महामारीको पूर्व तयारी खोइ ?’, ‘देशकै मेडिकल सिटीमा, जनता मर्नुपर्ने अस्पतालको पेटीमा’ लगायतका नारा लेखिएका प्लेड कार्ड बाकेको थिए ।
चितवनका युवाहरुको प्रतिनिधित्व गर्दै १० जनाले प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको उनीहरुले बताएका छन्। कोरोना नियन्त्रण र संक्रमितको उपचार तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिकाले वेवास्ता गरिरहेको युवाहरुको गुनासो छ । युवाहरुको समूहले चौविसकोठीमा कोरोना हेल्प डेस्क राखेर विरामीको उपचारमा सहयोग गरिरहँदा महानगर भने निरीह बनेर बसेको उनीहरुको आरोप छ ।
अक्सिजन र आइसियू बेडको अभावमा संक्रमितहरु दिनदिनै मर्ने क्रम बढेकाले संक्रमितको उपचारलाई प्रभावकारी बनाउन माग गर्दै प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी सन्तोष पन्तले बताए । ‘महानगर र जिल्ला प्रशासनलाई खबर गरिरहेका छौँ’, उनले भने, ‘भरतपुरलाई मेडिकल सिटी भनेर चिनिन्छ । तर यहिँ आइसियू र भेन्टिलेटर मात्रै होइन सामान्य बेड पनि नपाएर बिरामी मर्नुपर्ने अवस्था छ ।’
जिल्लाका अस्पतालहरुले बाहिरी जिल्लाका बिरामीलाई समेत उपचार सेवा दिनुपर्ने अवस्था रहेकाले एउटा नयाँ कोभिड अस्पताल बनाउनुपर्ने उनले बताए । ‘भरतपुर महानगरपालिका त एकदम निरीह नै देखिएको छ । कुनै काम गर्न सकेको छैन । बरु हामीले हेल्प डेस्क मार्फत दुई सय बढी विरामीलाई सहयोग गरेका छौँ’, उनले भने । चितवनमा निषेधाज्ञा लगाएको आज १२ दिन भइसकेको छ ।