चितवन । नेपाली कांँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांँग्रेसले अव रुपान्तरण जानुपर्नेमा जोड दिएका छन् । आज भरतपुर आयोजित दलमा रुपान्तरण देश रुपान्तरणका लागि बिषयक कार्यक्रममा सम्बोधन गर्दै उनले अब देशमा राजनीतिक रुपमा नभई राजनीतिमा परिवर्तन हुनुपर्ने बताए ।
नेपाली कांँग्रेसले वितेको पांँच बर्षको कांँग्रेस र ७० बर्ष अघिको समयको कांँग्रेसको समीक्षा गर्नुपर्ने बेला आएको उनले बताए । ‘रुख कमजोर भयो भने फेयर एण्ड लब्ली दलेर हुंँदैन यसको जरानै बलियो हुनुपर्छ उनले भने , अबको निर्वाचनमा तीनतहकै चुनाव जित्नु पर्ने तागत कांँग्रेसमा हुनुपर्छ ।’ राजनीति नवदलिए देश र समाज बदल्न नसक्ने भन्दै उनले आफू र आफैंलाई रुपान्तरण गर्नुपर्ने उनको भनाई छ ।
प्रचण्ड भन्दा अघिनै कांँग्रेस क्रान्तिकारी भएको भन्दै उनले क्रान्ति मात्र होइन कांँग्रेस विनम्र पनि हुनुपर्ने बताए । ‘प्रचण्डले उठाएको बन्दुकले १७ हजारको ज्यान गयो, उनले भने, कांँग्रेसले उठाएको बन्दुकले निरंकुश व्यवस्थालाई टक्कर दियो ।’
ओली सरकारले दुई तिहाइको सरकार चलाउन नसकेको भन्दै उनले अब जनताले कांँग्रेस खोजेको बताए । ‘अहंकारको बृक्षमा विनाशकारीको फल लाग्छ । कठोरताको आयु छोटो हुन्छ । कम्युनिष्ट कठोर भयो कांँग्रेस विनम्र बन्नुपर्छ । कम्युनिष्ट दांँत जस्तो हो भने कांँग्रेस जिब्रो जस्तो हो ।’ उनले भने । नेपाल बाहिर पनि अर्को नेपाल भएकोले अब कांँग्रेसले सबै क्षेत्र, गाउंँ, वर्ग , जाति सबैको भावनालाई समेटेर लैजानु पर्ने उनको भनाई छ । कांँग्रेस पार्टीमा अन्य पार्टीजस्तो गाली गर्ने संस्कार नभएको भन्दै उनले कांँग्रेस आलोचना गर्ने पार्टी भएको बताए । कांँग्रेस आलोचनामा विश्वास गर्छ , गालीमा विश्वास गर्दैन । शर्माले भने ।
जनतालाई कांँग्रेस बुझाउन सक्नुपर्ने कांँग्रेस बनाउनु पर्ने भन्दै उनले भने, ‘कांँग्रेसले देशलाई बदल्नुपर्दछ, काँग्रेसले कांँग्रेसलाई बदल्नुपर्दछ । ’ कांँग्रेसको महाधिवेशनपछि नेपाली कांँग्रेसले १५ बर्षको नीति बनाएर अघि बढ्न लागेको शर्माले बताए । कार्यक्रममा राज्यमन्त्री उमेश श्रेष्ठले अब पार्टी र देशमा रुपान्तरण हुनुपर्ने बताए । ‘अब पार्टीमा युवालाई रुपान्तरणको जरुरी छ, पार्टीलाई योगदान दिनसक्ने व्यत्ति ल्याउनु जरुरी छ ।’उनले भने । राजनीतिक स्थायीत्व भए मात्र देशको रुपान्तरण हुने उनको भनाई छ ।
ज्यष्ठ नागरिक सम्मान सहितको उक्त कार्यक्रममा बोल्दै नेपाली कांँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले जीवन र जवानी समर्पित गरेका ज्यष्ठ नागरिकलाई सधै सम्मान गर्नुपर्ने बताए । कांँग्रेस पछिल्लो समय कमजोर हुंँदै गएको भन्दै श्रेष्ठले अब पार्टीको बैठक केन्द्रीय कार्यालयमा हुनुपर्नेमा जोड दिए । कांँग्रेसको बैठक अब बुढानिलकण्ठ र बोहोराटारमा होइन पार्टीको केन्द्रीय कार्यालयमै हुनुपर्छ । उनले भने । पार्टीमा पात्र मात्र फेरिने प्रवृत्तिले कांँग्रेस बलियो नहुने भन्दै मष्तिस्कमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए । महाधिवेशनको २१ देखि ९१ बर्षको व्यत्तिहरुको आकर्षण बढेको भन्दै उनले अबको तीनतहको निर्वाचनमा कांँग्रेस एक्लै लड्ने र एकल बहुमत ल्याउने दाबी गरे ।
कार्यक्रममा प्रदेश सभासदस्य , मिलनबाबु श्रेष्ठ , पूर्व सांसद जगन्नाथ पौडे, भरतपुर महानगरका उपप्रमुख पार्वती शाहले आफ्नो धारणा राखेका थिए ।