चितवन। सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि (मंगलबार) नेपाल बन्दको घोषणा गरेको छ । बन्दको अवज्ञा गर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुने नेपाल कम्युनिस्ट पार्टी चितवनले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी चितवनले बन्दलाई प्रभावकारी र कडा बनाउने तयारी गरेको छ । नेकपा चितवनका अनुसार भोलि चितवनमा मोटरसाइकल मात्रै चलाउन पाइनेछ । मोटर साइकल बाहेक बजार, व्यवसाय तथा सम्पूर्ण कार्यालयहरु बन्द हुनेछ । अत्यावश्यक सेवाका सवारी साधन पनि चल्न दिइने छ ।
नेपाल आयल निगमले हालसालै खाना पकाउने ग्यासमा ७५ रुपैयाँ र डिजेल तथा पेट्रोलमा ३-३ रुपैयाँ मूल्य बढाएको थियो । निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे लगत्तै नेकपाले ६ दिने देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । सोही कार्यक्रम अन्तर्गत नै भोलि नेपाल बन्दको आह्वान गरिएको हो ।
भोलि बन्दको असर चितवनमा पनि पर्ने देखिएको छ । नेपाल बन्दलाई मध्यनजर गर्दै जिल्ला भरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।