चितवन। चितवनका अस्पतालमा रहेका अक्सिजन प्लान्टलाई चौबिसै घण्टा सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज भएको सरकारी र निजी अस्पतालका प्रमुखहरुबीचको बैठकले यो निर्णय गरेको हो ।
बैठकले चितवनका अस्पतालमा रहेका अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा चौबिसै घण्टा सञ्चालनको व्यवस्था मिलाउने निर्णय गरेको हो । यस्तै अक्सिजन उत्पादन नगर्ने र थप अक्सिजन आवश्यक पर्ने अस्पतालहरुले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसिसिएमसी) लाई सम्पर्क गर्ने निर्णय पनि भएको छ ।
बैठकले भरतपुर अस्पतालमा उच्च क्षमताको अक्सिजन प्लान्ट स्थापनाको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरिने भएको छ । यस्तै अन्य जिल्लाबाट संक्रमितलाई चितवन पठाउदा अस्पतालसँग समन्वय गरेर मात्रै पठाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।पछिल्लो समय काठमाडौं लगायतका केही ठुला सहरमा अक्सिजन अभाव भएपछि चितवनमा अत्याधिक मात्रामा कोरोना संक्रमित बिरामीहरु उपचारका लागि आउने गरेका छन् । तर अस्पतालसँग समन्वय नै नगरी आउँदा उपचारमा समस्या भइरहेको अस्पतालहरुको गुनासो छ ।