चितवन । नेकपा (एमाले) चितवनले आज शनिबार तीन ठाउँबाट महाधिवेशन प्रतिनिधि छनौट गर्दैछ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं महाधिवेशनको लागि प्रतिनिधि बन्न २११ जनाले मनोनयन दर्ता गरेका छन् ।
क्षेत्र नं १ को खैरहनी, क्षेत्र नं २ को भरतपुर र क्षेत्र नं ३ पटिहानीबाट प्रतिनिधि छनौट गरिनेछ । क्षेत्र नं १ मा ५४ पुरुष र १६ महिलाले मनोनयन दर्ता गरेका छन् । यीमध्ये ३ महिला र ७ पुरुष प्रतिनिधि छनौट हुनेछ । क्षेत्र नं १ को खैरहनी पार्टी भेनुमा यतिबेला छलफल चलिरहेको छ ।
क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधि छनौटको लागि जिल्ला पार्टी कार्यालय भरतपुरमा मनोनयन दर्ता भएको छ । क्षेत्र नं २ मा पनि ५४ पुरुष र १६ महिलाले मनोनयन दर्ता गरेका छन् । यहाँबाट ३ महिला र ६ पुरुष प्रतिनिधि छानिनेछन् ।
क्षेत्र नं ३ मा ४८ पुरुष र १२ महिलाले प्रतिनिधि छनौटको लागि मनोनयन दर्ता गरेका छन् । यहाँबाट ३ महिला र ४ पुरुष प्रतिनिधि बन्नेछन् ।
चितवनबाट महाधिवेशन प्रतिनिधिको लागि २ जना दलित प्रतिनिधि पनि छानिनेछन् । जसको लागि १ महिलासहित ११ जनाको जिल्ला पार्टी कार्यालय भरतपुरमा मनोनयन परेको छ ।
नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले सर्वसम्मतरुपमा प्रतिनिधि छनौट हुने जानकारी दिइन् । उनले भनिन्, ‘आजै प्रतिनिधिको टुंगो लाग्छ । सकेसम्म सर्वसम्मत गर्नेछौँ । मनोनयन परेका २११ जनाबाट २८ प्रतिनिधि छान्नेछौँ ।’ उनले आजै साँझ ६ बजेसम्म प्रतिनिधि छनौट भइसक्ने चितवन प्रेसलाई जानकारी दिइन् । अध्यक्ष रावलका अनुसार चितवनमा एकैदिन आज तीन वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनौट हुनेछ । क्षेत्र नं २ को जिल्ला पार्टी कार्यालय भरतपुर, क्षेत्र नं ३ को मनमोहन स्मृति भवन पटिहानीमा महाधिवेशन प्रतिनिधि छनौट हुने अध्यक्ष रावलले बताइन्।
कात्तिक २७ गते बिहान ९ देखि १२ बजेसम्म तीन वटै क्षेत्रबाट प्रतिनिधि बन्न चाहनेले मनोनयन दर्ता गरेका थिए । जिल्लाभरिका दलितका लागि जिल्ला पार्टी कार्यालय भरतपुरमा मनोनयन दर्ता भएको थियो ।