काठमाडौँ। गाउँ-गाउँमा मिटर ब्याज लगानीले जनता पीडित बनेको एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।
नेपालले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएका मान्छेले गाउँका जनता लुट्न मिटरब्याज लगानी गरेको बताए। उनले यसका विरूद्धमा ठूलो अभियान चलाउनुपर्ने देखिएको बताएका छन्।
समाजवादी पार्टीनिकट पत्रकारहरूलाई निर्देशन दिँदै शनिबार नेपालले भने, ‘प्रहरीका मान्छे पनि जोडिएको सुनेको छु, मैले अस्ति प्रहरी प्रमुखलाई भनेको छु। प्रशासनको मान्छे पनि जोडिएका छन्।’
नेपालले मिटरब्याजकै कारण सर्लाहीमा मानिसको हत्यासमेत भएको थाहा पाएको बताए। ‘मिटरब्याजको आवाज बुलन्द गर्नेको हत्या गरिएको थाहा पाएको छु। त्यसमा मिटरब्याजी संलग्न भएको कुरा आएको छ,’ उनले भने।
उनले त्यस्ता प्रवृत्ति र विकृति विसंगतिलाई नांगेझार पार्न पत्रकारलाई अनुरोध गरे। त्यसरी काम गर्दा पैसा दिएर प्रलोभन देखाउन सक्ने भएकाले सचेत हुन पनि अनुरोध गरे।