चितवन । चितवनलगायत देशभर भोलि बिहीबारबाट बाट दोस्रो चरणको राष्ट्रिय जनगणना २०७८ को मुलगणना वा पुर्णगणना हुंँदैछ । चितवनका सातै स्थानीय पालिकाका ९८ वटा वडामा गणनाको लागि ८६७ जना गणक र २१० जना सुपरिक्षक खटिदै छन् । ४ गणकका लागि एक सुपरिवेक्षक खटाइनेछ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको तथ्यांक कार्यालय चितवनले जनाएको छ ।
यसअघि कार्यालयले घर तथा घर परिवारको सूचिकरण गर्ने कार्य सम्पन्न गरिसकेको छ । जिल्ला जनगणना अधिकारी यज्ञमुर्ती भण्डारीले मुलगणनाको लागि सबै गणक र सुपरिवेक्षकलाई कार्यक्षेत्र खटिन निर्देशन गरिसकिएको जानकारी दिए । जनगणनाका लागि स्थानीय तह अनुसार सातवटा जनगणना कार्यालय तोकिएको छ । जसअनुसार भरतपुरमा तीन वटा कार्यालय, इच्छाकामना र कालिकामा १ वटा, रत्ननगर नगरपालिकामा १, राप्ती र खैरहनीलाई हेर्ने गरेर एउटा जनगणना कार्यालय स्थापना गरिएको छ । माडीमा एक वटा कार्यालय स्थापना गरिएको छ ।
जनगणनालाई सफल पार्न जिल्ला तहदेखि पालिका हुँदै वडातहसम्म सहजीकरण समिति गठन भएको भण्डारीले बताए । उनका अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना अधिकृत सचिव रहने गरी जिल्लामा जनगणना समन्वय समिति निर्माण गरिएको छ । पालिकास्तरमा स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला जनगणना अधिकारीको संयोजकत्वमा सहजीकरण संयन्त्र गठन भएको छ । प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय सहजीकरण समिति गठन गरिएको उनले जानकारी दिए ।
गणकले आउंँदो मंसिरको ९ गतेसम्म कार्यालयमा सबै विवरण बुझाई सक्नुपर्नेछ । भण्डारीका अनुसार २०६८ सालमा गरिएको जनगणना यसपटक गर्न लागिएको जनगणनाको ढांँचा, सूचक र प्रश्नावली फरक र थप गरिएको छ । जसअनुसार प्रथम चरणको जनगणनाको सूचीकरण कार्यमा पारिवारिक विवरणको साथै पशुपंक्षीको गणना, व्यक्तिको बैंक खाता, बैंकमा ऋणको पहुंँच, सरकारी अनुदान घर निर्माण लगायतका सूचकहरु समावेश गरिएको छ ।
दोस्रो चरणको मुल गणनामा व्यक्तिको सबै निजी विवरण पनि समावेश गरिने र सबै तथ्यांक गोप्य राखिने उनले जानकारी दिए । सरकारको हरेक क्षेत्रलाई सहयोग पुर्याउन र नीति निर्माणमा सहज होस् भन्ने हेतुले मुलगणनामा सबै विवरण संकलन गर्न लागिएको हो । ‘तथ्यांकहरु सही सत्य तथ्य गर्नको लागि हामीले हरेक दिन विवरण रुजु गर्ने, अद्यावधिक गर्ने प्रबन्ध गरिएको छ, भण्डारीले भने, यसबाट तथ्याकहरु नछुट्ने र दोहोरिने समस्या हुंँदैन ।’
मुख्य गणनाको फाराममा बिशेषतः परिचयात्मक खण्ड,पारिवारिक विवरण र व्यक्तिगत विवरणलाई समावेश गरिएका प्रश्नहरु सोधिनेछन । यो पटकको जनगणनामा सामुदायिक प्रश्नावली राखिएको र सम्बन्धित वडाका अध्यक्ष एवं सचिवबाट आफ्नो वडाका समुदायका जातजाति, बसाइसराई, संरचना र पूर्वाधार लगायतका बिषयहरुलाई समेटिएको प्रश्नावली अनुसारको विवरण लिईने भण्डारीले जानकारी दिए ।
यसपटकको मुलगणनामा व्यक्तिको जन्ममिति, पांँच वर्षपछि पनि जन्म दर्ता नभएको बच्चाको विवरण र पुर्खाको भाषालगायतका विषयहरु समेत प्रश्नावलीमा समेटिएको छ । ‘यो पटकको मुलगणनामा वडा तहसम्म पुगेर हरेक बिषयको सुक्ष्म रुपमा गणना लिने कार्य हुन्छ’ उनले भने, जसले गर्दा हरेक किसिमको विवरण सत्य तथ्य र स्पष्ट होस ।’
केन्द्रीय तथ्यांक विभाग र स्वास्थ्य मन्त्रालयको समन्वयमा यो पटकको मुलगणनामा मातृ मृत्युदर को पनि गणना हुने उनले बताए । मुलगणना सकिएपछि प्रारम्भिक रुपमा जगगणनाको नतिजा प्रकाशित गर्ने र सबै क्षेत्र, विषयलाई अलगअलग छुट्याएर अन्तिम जनगणना सार्वजनिक गरिनेछ । कार्यालयका अनुसार २०६८ जनगणनामा चितवनमा ५ लाख ७९ हजार ९८४ जनसंख्या थियो । १० वर्षको अन्तरालमा चितवनमा दुई लाख जनसंख्या थपिएर झण्डै ८ लाख जनसंख्या हुने अनुमान गरिएको छ ।