धनुषा। धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दुर्घटनापछि बसमा आगो लागे पनि मानवीय क्षति नभएको इलाक प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।
दुर्घटनामा घाइते हुनेमा सात जना महिला, चार जना पुरुष र एक जना बालक रहेका उनले बताए । घाइतेमध्ये १० जनाको पुष्पवलपुर स्थित एक नीजि स्वास्थय उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्रु सकुशल रहेका छन् ।
दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बर यात्रुवाहक बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको उनले जानकारी दिए ।
धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पुरै भाग जलेर नष्ट भएको छ । सडकबाट तल खसेको बसमा आफैँ आगो लागेको थियो । बस पल्टिने क्रममा तेलको टंयाकी फुटेर आगो लागेको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक सुवेदीले बताए ।
बसमा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ। आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ।