पोखरा। दशौँ महाधिवेसनको सँघारमा रहेको नेकपा एमालेले गण्डकी प्रदेश कमिटी र सचिवालय विस्तार गरेको छ । साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतको फैसलाले वैधता नदिएपछि २ जेठ २०७५ मा फर्किएको एमालेले सोही आधारमा रहेर कमिटी विस्तार गरेको हो ।
अब एमालेको गण्डकी कमिटी सदस्य ४०८ पुगेका छन् । यसअघि १०८ सदस्यीय कमिटीमा ३०० जना थपिएको हो । यस्तै, सचिवालय सदस्यसमेत जम्बो बनाइएको छ । पहिलेको १४ सदस्यीय सचिवालय विस्तार गरेर ६७ सदस्यीय बनाइएको छ । सोमबार बसेको प्रदेश कमिटी बैठकले ५३ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेको हो ।
प्रदेश कमिटीमा सबैभन्दा कम मनाङबाट दुई जना र सबैभन्दा बढी कास्कीबाट ९९ जना थप भएका छन् । यसबाहेक मुस्ताङबाट ११ जना, म्याग्दीबाट १४, बागलुङबाट ४७, पर्वतबाट १५, स्याङ्जाबाट ४६, तनहुँबाट २०, नवलपुरबाट १९, लमजुङबाट नौ र गोरखाबाट १८ जना थपिएका हुन् । एमालेबाट थपिएका दुवै कमिटीमा समानुपातिक सिद्धान्तलाई बेवास्ता गरिएको छ ।
महाधिवेशन प्रतिनिधिमै ३३ प्रतिशत महिला अनिवार्य गरेको एमालेले प्रदेश कमिटीमा सदस्य थप्दा १३ प्रतिशत मात्र महिला उपस्थित गराएको छ भने सचिवालयमा पनि १० प्रतिशत हाराहारी मात्र महिला समेटेको छ ।