काठमाडौँ। युएईमा जारी टि–२० विश्वकपमा न्यूजील्याण्डले तेस्रो जित हात पारेको छ । शारजाहमा शुक्रबार भएको खेलमा न्यूजील्याण्डले नामिबियालाई ५२ रनले पराजित गर्यो । १६४ रनको लक्ष्य पछ्याएको नामिबिया ७ विकेटको क्षतिमा १११ रन मात्रै जोड्न सक्यो ।
उसका लागि माइकल भ्यान लिङ्गेनले २५, जेन ग्रीनले २३ र स्टेफन बार्डले २१ रन बनाए । न्यूजील्याण्डका लागि टिम साउथी र ट्रेन्ट बोल्टले २/२ विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको न्यूजील्याण्डले ४ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । उसका लागि ग्लेन फिलिप्सले अविजित ३९ र जेम्स निशमले अविजित ३५ रन बनाए । बर्नार्ड, डेभिड विसे र गेर्हार्ड इरास्मसले समान एक/एक विकेट लिए ।
जारी विश्वकपमा न्यूजील्याण्ड पहिलो खेलमा पाकिस्तानसंग पराजित भएपछि लगातार तीन खेलमा जित हात पारेको छ । अब अन्तिम खेलमा न्यूजील्याण्ड र अफगानिस्तान प्रतिस्पर्धा गर्नेछ । आजको जितसंगै न्यूजील्याण्ड ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । ४ अंकका साथ दोस्रो स्थानमा रहेको अफगानिस्तान भने तेस्रो स्थानमा झरेको छ ।