चितवन । चितवनमा बढ्दो शहरीकरणले उद्योगहरु संचालनमा कठिनाई भइरहेको छ । उद्योगहरु रहेको वरपर वस्ती बाक्लिदै जानु र नयाँ उद्योगहरु स्थापनाका लागि समेत उचित ठाउँको खोजी भइरहेको छ। देशकै मध्य भागमा रहेको चितवनमा थपिदै गएका उद्योगहरुलाई थप व्यवस्थित गराउने र नयाँ उद्योग स्थापना गर्न चाहानलेलाई सरल गराउन शक्तिखोर ओद्योगिक क्षेत्र निर्माण गर्ने योजना सार्वजनिक गरिएको थियो । तर घोषणाको ५ वर्ष हुँदापनि फिल्डमा कुनै काम हुन सकेको छैन ।
२०७३ साल फागुन ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् बैठकले शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । कालिका नगरपालिका वडानम्वर ३, ७ र ८ जहाँ माओवादी लडाकुहरुको शिविर थियो सोही ठाउँमा व्यवस्थित औद्योगिक क्षेत्र बनाउने भनिएपनि २०७८ साल लाग्दा सम्म फिल्डमा निर्माण कार्यको कुनै सिन्को भाँचिएको छैन । तर १७४१ विघा क्षेत्रफलमा ३६ अर्वको लागत सहितको डिपिआर भने तयार भइसकेको छ । अहिलेको गठवन्धन सरकारले चाँडै शिलान्यस गर्ने आशमा रहेको बताउछन् वागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी ।
सरकार परिवर्तन र तत्कालिन नेकपा भित्रको आन्तरिक विवादले आद्योगिक क्षेत्र निर्माणमा ढिलाई भएको बताइन्छ । चितवनका उद्योगीहरुले प्रधानमन्त्री शेरवहादुर देउवालाई समेत भेट गरेर काम अघि बढाइदिन आग्रह गरेका छन् । चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्तीले २५० बढि उद्योगहीरुले शक्तिखोर औद्योगिक क्षेत्रमा जानका लागि नाम दर्ता गरिसकेका जानकारी दिनुभयो त्यसैले पनि निर्माणमा ढिलाई नगर्न उनको आग्रह छ।
इआइए समेत भइसकेको आयोेजना अघि बढाउने आश्वासन चितवनमा आएर पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दिएका छन् ।विकासमा अव कोही वाधक नभएको भन्दै ढुक्क हुन उद्योगीहरुलाई उनको आग्रह थियो ।
औद्योगिक व्यवस्थापन लिमिटेड मार्फत सरकारको ध्यानाकर्षण गराइरहेका उद्योगहिरुले ९९ वर्षको भोगाधिकार सहित आद्योगिक क्षेत्र माग गरेका छन् । शिलान्यास भए निजी क्षेत्रले समेत लगानी गर्न तयार रहेको र फेज वाइज काम सुरु हुने उद्योगीहरु बताउँछन् । तर उद्योग कलकारखानाको स्थापना विना देशको समृद्धि हुनै नसक्ने भाषण गर्दै हिँड्ने सत्ताका मालिकहरुले दिने पटक पटकको आश्वासनले चितवनमा रहेका करिव १२ सय उद्योग संचालकहरु आसैआसमा बस्न वाध्य भएका छन् ।