चितवन । नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चितवन प्रवेश गरेसँगै भव्य स्वागत गरिएको छ ।
उनी सडकमार्गबाट चितवन आइसकेका नेकपा एमाले चितवनले जनाएको छ । दासढुंगा आएर अध्यक्ष ओलीले स्व जननेता मदन भण्डारी र अर्का नेता जीवनाथ आश्रितको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम भएको छ ।
अध्यक्ष ओलीले अबको केहीबेरमा १० औँ महाधिवेसनको लागि उद्घाटन हुने ठाउँ नारायणी नदी किनारको अवलोकन गर्नेछन् । अवलोकनपछि भरतपुर महानगरको अधिवेशनको उद्घाटन अध्यक्ष केपी ओलीबाट हुने एमाले चितवनले जनाएको छ ।
अध्यक्ष ओली आज कात्तिक १५ र १६ गते चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन हुनेछन् । चितवनका एमाले नेता कार्यकताहरु अध्यक्ष ओलीको स्वागत भव्य रुपमा गरिरहेका छन् ।
महानगर कमिटीको अधिवेशन भरतपुरको सिएमटि रिसोर्ट हाकिमचोकमा आयोजना गरिएको छ । सम्भवत उक्त सभालाई अध्यक्ष ओलीले मध्यान्ह २ बजे सम्बोधन गर्ने कार्यक्रम छ। अधिवेशन उद्घाटनपछि अध्यक्ष ओलीले एमालेको केन्द्रीय महाधिवेशनको बन्द सत्र हुने सौराहास्थित होटल सेभेन स्टारको अवलोकन गर्नेछन् । तर उक्त होटल छनौट हुने या नहुने भन्ने बिषयमा ओली आएपछि मात्रै निश्चित हुनेछ ।
कात्तिक १६ गते नारायणी नदीमा रहेको मिनीक्रुजको अवलोकन र शयर गर्ने कार्यक्रम राखिएको छ । तत् पश्चात ११ बजे माडीको अयोध्याधामको अवलोकन एवं भेटघाट कार्यक्रम तय भएको छ। दुई दिनसम्म अध्यक्ष ओली चितवन हुनेछन् ।