काठमाडौं । आसन्न शहीद स्मारक ए डिभिजन लिगका लागि साविक विजेता मच्छिन्द्र क्लबले दुई विदेशी खेलाडी भित्र्याएको छ ।
गत वैशाखमा भएको नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीबाट खेलेका नुर्लान जाहिद र सदिक कुलियेभलाई मच्छिन्द्रले क्लबमा भित्र्याएको हो । दुवै अजरबैजानका खेलाडी हुन् ।
दुवै खेलाडी बुधबार नेपाल आइपुगेका छन् भने उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथमा क्लबका पदाधिकारीले स्वागत गरे । नेपाली फुटबल जगतमा भएको नयाँ सुरुआत एनएसएल खेलिसकेका नुर्लान नेपाली फुटबलमा नयाँ होइनन् । यद्यपि, ए डिभिजन लिगमा भने यो उनको डेब्यू सिजन हो । एनएसएलमा नुर्लानले ८ खेलमा दुई गोल गरेका थिए ।
नुर्लानसँगै मच्छिन्द्रले भित्र्याएका अर्का सेन्टर ब्याक सदिक कुलियेभले भने पहिलो पटक नेपालमा खेल्नेछन् । सदिकले अजरबैजानको युवा टोलीबाट खेलिसकेका छन् ।
एन्फाले आयोजना गर्ने ए डिभिजन लिग २९ कात्तिकमा सुरु हुनेछ । जहाँ १४ क्लबको सहभागिता रहनेछ ।
मछिन्द्रले यसअघि नै सुजल श्रेष्ठ, अभिषेक रिजाल, मनिष डाँगी, सुनिल बल, विशाल राई, विशाल श्रेष्ठ, रन्जित धिमाल, देभेन्द्र तामाङलगायत खेलाडी अनुबन्ध गरिसकेकाे छ । प्रशिक्षकमा प्रवेश कटवाल रहनेछन् । न्युज कारखाना