चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार आफ्नो गृहजिल्ला चितवनमै रहेका छन् ।
बुधबार उनी चितवनका जनताको घरदैलोमा पुगेर सुखदुःख साटिरहेका छन् ।
एमालेले चितवनमा महाधिवेशन गरेर आफूलाई फाइदा पुग्ने बताएका प्रचण्ड सहिद परिवार, बेपत्ता परिवारका घरदैलोमा पुगिरहेका छन् । उनकी छोरी गंगा दाहालका अनुसार अध्यक्ष प्रचण्ड आफ्नो निर्वाचन क्षेत्रका जनताको घरघरमा पुगेका छन् ।
प्रचण्डको साथमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, गंगा दाहाल, माओवादी केन्द्रका चितवन अध्यक्ष यमबहादुर परियारलगायत अन्य नेता तथा कार्यकर्ता छन् । प्रचण्डले यसअघि पनि आफ्नो निर्वाचनको क्षेत्रका जनताको घरमै बसेर खाना खाने, भेटघाट गर्ने काम गरिरहेका थिए । अध्यक्ष प्रचण्डले आफू अब अन्तिम पटक चितवनबाटै चुनाव लड्ने घोषणा गरेसँगै जनताको घरघरमा पुग्नेक्रम पनि बढिरहेको छ ।