नेपालगञ्ज। कोरोना कहरले अति प्रभावित लुम्बिनी प्रदेशको बाँकेमा सोमबार राति १२ बजेदेखि लागू हुने गरी जिल्लाभरी एक साताका लागि ‘लकडाउन’ हुने भएको छ । यस अगाडि नेपालगञ्ज उपमहानगरपालिका गएको बुधबार (८ गते) देखि) एक साताको लागि लकडाउन गरिएको थियो ।
संक्रमणले विकराल रुप लिन थाले स्थानीय प्रशासनले जिल्लाभरि लकडाउन बढाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको सूचनामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ ।
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षा र हवाईसेवा सञ्चालन गर्न पाइनेछ ।
बाँकेका संक्रमणसँगै मृत्युदर बढेको छ । बाँकेमा रातिदेखि आइतबार अपराह्न ४ बजेसम्म सात जनाको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म ८५ जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाका एक सय ३ जनाको मृत्यु भएको छ । वैशाख १ देखि ११ गतेसम्म २ हजार ९ सय ३ जना संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भइसकेको छ ।