मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गृहजिल्ला मकवानपुरको हेटौँडा अस्पतालको निरीक्षण गरेका छन् । उनले आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् ।
मन्त्री खतिवडाले हेटौँडा अस्पतालको आईसीयू कक्ष, कोभिड–१९ वार्डको स्थलगत निरीक्षण गरे । सो अवसरमा उनले अस्पतालको स्तरोन्नति र सेवा विस्तारका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले अस्पतालका कर्मचारीमा प्रतिष्ठान आएपछि जागिर नै सङ्कटमा पर्ने चिन्ताले सताइरहेको भन्दै यसबारेमा सरकारले आवश्यक निर्णय गर्ने भएकाले निश्चिन्त रहेर जनताको सेवामा लाग्न आग्रह गरे । वर्षाैँदेखि काम गर्दै आएका करारका कर्मचारी, चिकित्सक, नर्सलगायत सबैलाई समेटेर प्रतिष्ठानले अपुग कर्मचारी माग्नेमा सरकारको ध्यनाकर्षण हुने उनले बताए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले मन्त्री खतिवडालाई अस्पतालको पछिल्लो अवस्था र कोरोना महामारीमा गरेका प्रयासका बारेमा जानकारी गराए । रासस