चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासीलाई गोली चलाएर दिगो समाधान नहुने बताएका छन्।
आज (सोमबार) भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै भट्टराईले सुकुम्बासीलाई गोली चलाएर तितरवितर पार्ने काम दुखद रहेको बताए ।
उनले जग्गा कब्जा गर्ने सबै सुकुम्बासी नभएर कतिपय हुकुम्बासी होलान् तर गोली चलाएर सबै कुराको समाधान नहुने बताए। उनले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने समेत जोडदिए।
फरक प्रसङ्गमा बोल्दै उनले उद्योगमन्त्रीले दिएको राजीनामा प्रकरणबारे सरकार विवादमा पर्नु राम्रो नभएको बताए । प्रतिगमनविरुद्ध सङ्घर्षबाट बनेको सरकार भएकाले सरकारले पूर्ण कार्याकाल पूरा गर्ने दावी गरेको उनको दाबी छ ।
‘ओलीको प्रतिगमनविरुद्ध संघर्ष गरेर बनेको सरकारले फेरि ओली प्रवृत्ति देखाउनु हुँदैन,’ उनले भने, ‘गुणात्मक रुपमा फरक नभए जनतामा निराशा आउँछ, त्यसैले ओली प्रवृत्तिनै परास्त गर्नुपर्छ ।’