बाग्मती । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी गरेका छन् । नेपाली काँग्रेस बागमती प्रदेशको संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने भन्दै मुख्यमन्त्रीमा नेता बानियाँलाई अगाडि सार्ने निर्णय गरेको हो ।
बैठकमा नेपाली काँग्रेसले प्रदेशसभामा हालसम्म निर्वाह गरेको भूमिका राजनीतिक संस्कारयुक्त रहेको र उक्त भूमिकाको जनताले समेत प्रशंसा गरेको भन्दै सरकारको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने सांसदहरुले धारणा राखेका थिए ।
सरकार गठनबारे हालसम्म गठबन्धनका दलहरु बीच कुनै औपचारिक छलफल भने नभएको नेपाली काँग्रेस बाग्मती प्रदेशको संसदीय दलको कार्यालयले जनाएको छ । बैठकले नेता बानियाँलाई सरकार गठनका लागि गठबन्धनमा आवद्ध दलहरूसँग छलफलको जिम्मेवारी पनि सुम्पिएको छ ।
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार संसदबाट विश्वासको मत लिने तयारीका साथ प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा बैठक ३ बजे बस्नेछ । मुख्यमन्त्री शाक्यको विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रिया र प्रदेशसभा बैठकको कार्यसूची तयार पार्न कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।