चितवन ।विजय दशमीको उपलक्ष्यमा राईनो क्लब नारायणगढद्दारा आयोजित पाँच किलोमिटर (किमी) दौड प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगी प्रथम भएका छन् । उनले १५ मिनेट २४ सेकेण्डमा पाँच किलोमिटरको दुरी पार गरी प्रथम भएका हुन् ।
प्रतियोगितामा नेपाल आर्मी कालि बहादुर गण भरतपुरका अमृत गुरुङ दोश्रो, कालिका नगरपालिका पदमपुरका अमृत बोट तेस्रो, भरतपुर महागरपालिका–१ रामनगरका सुबिर थापा चौथो र भरतपुर महानगरपालिका बसेनीका कुशल गुरुङ पाँचौ भएका छन् ।
उनीहरुले क्रमश १६ मिनेट १० सेकेण्ड, १६ मिनेट १३ सेकेण्ड, १६ मिनेट २६ सेकेण्ड र १६ मिनेट ३८ सेकेण्डमा पाँच किमी दुरी पार गरेका थिए । बिजयी खेलाडीहरुले १० हजार, सात हजार, चार हजार, दुई हजार र एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
स्वास्थ्यको लागि खेलकुद भन्ने उद्देश्यले आयोजना गरीएको प्रतियोगितामा नेपाल प्रहरी, नेपाल आर्मी लगायतका ३५ जना खेलाडिहरुको सहभागिता रहेको थियो । देवघाटतर्फको जलमापन केन्द्रबाट शुरु भएको दौड नारायणगढको दियालो रोडको गेटसम्म भएको थियो ।
बिजयी खेलाडीहरुलाई भरतपुर महानगरपालिका–१ का वडा अध्यक्ष जयराम श्रेष्ठले पुरस्कार र प्रमाण पत्र वितरण गरेका हुन् । उक्त अवसरमा श्रेष्ठले कोभिडपछी खेलकुदका गतिविधि शुन्य भएका बेला प्रतियोगिताले केही भए पनि आशा जगाएको बताए ।