काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना गरेको दोहोर्याएका छन् । बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले बालुवाटार जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको चेतावनी समेत दिए ।
“मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुण्डिन तयार छु । मेरो चुनौती छ–राज्यसँग । मेरो चुनौती छ कि मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम्पत्ति पनि हिनामिना गरेको छैन । ममाथि राजनीतिक प्रतिशोध राखेर अख्तियारमा मुद्दा चलाइएको हो,” उनले भने ।
उपसभापति गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू कांग्रेसमा प्रवेश गरेपछि प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुद्दा दर्ता गराएको आरोप समेत लगाए ।