काठमाडौं। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट संविधान मिचिँदा सञ्चार माध्यम मौन बसेको गुनासो गरेका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित विभिन्न सञ्चार माध्यमका ५० जनाभन्दा बढी सम्पादकसँग अन्तरक्रिया गर्दै उनले सरकारबाट एकपछि अर्काे पटक संविधान मिचिँदा सञ्चार माध्यम मौन बसेको बताएका हुन् ।
आफ्नो सरकारको पालामा सञ्चारमाध्यमबाट भएको खबरदारीलाई धन्यवाद दिएका उनले भने, ‘एमाले सरकारमा छँदा सञ्चार माध्यमबाट महत्वपूर्ण सहयोग पायौं । सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरू दिनुभयो । ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्यो ।’
सरकारलाई सञ्चार माध्यमको खबरदारी आवश्यक पर्ने बताएका अध्यक्ष ओलीले देउवा सरकारलाई खबरदारी नपुग्दा संविधान मिचिने काम भएको टिप्पणी गरे ।संविधान मिचिँदा सञ्चार माध्यम मौन बस्दा सरकारले गल्ती गरेको उनको भनाइ छ ।