गैँडाकोट। नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत गैँडाकोट नगरसभापतिमा खेमराज सापकोटाले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । सोमबार विहान पत्रकार सम्मेलन गर्दै सापकोटाले राजनीतिक निष्ठा र गैँडाकोटको भरोसा कायम राख्न आफुले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ ।
सापकोटाले अब आफ्नो कुनै प्यानल नहुने आफु स्वतन्त्र उम्मेदवार भएको बताउनुभएको छ । यस अघि आफ्नो प्यानलमा रहेका साथीहरु जुन सोचले जता गएपनि आगामी दिनमा उहाँहरु सहयात्री हुने खेमराज सापकोटाले बताउनुभएको छ । सापकोटाद्वारा जारी विज्ञप्तीमा भनिएको छ “नगरअधिवेशनको पूर्व सन्ध्यामा नगरसमितिका सम्बन्धमा अग्रज व्यक्तित्वहरुकै समुपस्थितिमा यस अघि मेरो नेतृत्वमा समितिमा नाम रहेका साथीहरु विशेष कारणवश फरक समुह वा स्वतन्त्ररुपमा निर्वाचनमा सहभागि हुने घोषणा गर्नुभएको छ । जुन रुपमा उम्मेदवारी गर्नुभएको भएपनि उहाँहरु सहयात्री भएको र आगामी दिनमा उहाँहरुसंगको सहकार्य जारी नै रहनेछ भन्ने कुरामा सम्पूर्ण साथीहरुलाई विश्वास दिलाउँछु ।” सभापतिमा उम्मेद्वारी दिँदै सापकोटाले भन्नुभयो “आशा र भरोसा र संगठीत काँग्रेसका लागि मेरो उम्मेदवारी हो”
पार्टीको आन्तरिक निर्वाचनमा आफ्ना बारेमा सिर्जना गरिएका भ्रम, अविश्वास, आक्षेप, अस्वस्थ राजनीतिक प्रचारबाजीले मलाई दुःखी एवं आश्चर्य तुल्याएको सापकोटाले बताउनुभएको छ । स्वार्थ प्रेरित, अस्थिर र ढुलमुले नीति र व्यवहारले संगठनलाई हित नगर्ने भन्दै नगरवासीको समृद्धिका लागि सचेत रहन समेत काँग्रेस कार्यकर्तालाई आग्रह गर्नुभएको छ । साझा वैचारिक, संगठीत र गतिशील संगठन निर्माणका लागि आफुले नगरसभापतिमा उम्मेद्वारी दिएको बताउनुभएको छ ।
“स्थानीय राजनीतिक नेतृत्व निर्माणका माध्यमबाट दिगो राजनीतिक विकास, भौतिक तथा वैचारिक विकासमा निष्ठावान तथा विवेकवान काँग्रेसको सहभागिता तथा आशा भरोसा र संभावनाको राजनीतिको लागि आफुले उम्मेदवारी दिएको छ” सापकोटाले विज्ञप्तीमा भन्नुभएको छ ।