अछाम । नेपाली कांग्रेस अछाममा अधिवेशन हुन बाँकी ४ पालिकामध्ये ३ मा निर्वाचन प्रारम्भ भएको छ ।
जिल्लाको साँफेबगर नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकामा निर्वाचन प्रारम्भ भएको छ भने बान्निगढी जयगढ गाउँपालिकामा सहमतिबाट नयाँ नेतृत्व चयनका लागि छलफल भइरहेको छ । सभापतिसँगै अन्य पदाधिकारी र कार्यसमितिमा सहमति नजुट्दा निर्वाचनबाट टुङ्गो लगाइने भएको छ । हालसम्म ६ पालिकामा सहमतिमै नयाँ नेतृत्व चयन भइसकेको छ ।
मंगलसेन नगरपालिका, कमलबजार नगरपालिका, ढकारी गाउँपालिका, रामारोशन गाउँपालिका र चौरपाटी गाउँपालिकामा सहमतिका आधारमा पालिकास्तरीय कार्यसमिति चयन शनिबार नै सम्पन्न भएको हो भने मेल्लेख गाउँपालिका आज कार्यसमिति चयन भएको हो ।
जसअन्तर्गत मंगलसेन नगर सभापतिमा झपट बहादुर रावल, कार्यसमितिको उपसभापतिमा हेमराज भण्डारी र पुरन विष्ट, सचिवमा बेदबहादुर थापा र मिलन रावल, सहसचिवमा ललित कुमार कडायत र रामप्रसाद भाट चयन भएका छन् ।
चौरपाटी गाउँपालिकाको सभापतिमा धर्म साउद, गाउँकार्यसमितिको उपसभापतिमा देउमल खड्का र कल्लाने थापा, सचिव चक्रबहादुर बोगटी सहसचिवमा वीर बहादुर साउद र भगवती साउद चयन भएका छन् ।
मेल्लेख गाउँपालिकाको सभापतिमा खकिन्द्र साउद, कार्यसमितिको उपसभापतिमा प्रकाश खडका, कर्ण धामी, सहसचिवमा जीवन बुढा र हर्क बुढा, सचिवमा प्रकाश खडका, पृथ्विराज अधिकारी, कोषध्यक्षमा छत्र शाहलाई चयन गरिएको छ ।
कमलबजार नरपालिकाको सभापतिमा पदम बहादुर भण्डारी, उप–सभापतीमा तक्मान विष्ट, हर्क भण्डारी, सचिव निर्मल विष्ट, मिन बहादुर बिष्ट, सह–सचिवमा लव अधिकारी, सुरज थापा, कोषाध्यक्ष भोजराज ढकाल चयन भएका छन् ।
ढकारी गाउँपालिकाका अध्यक्षसमेत रहेका धनबहादुर बुढालाई पालिका सभापतिमा सर्वसम्मत रुपमा चयन गरिएको छ । उप–सभापति खडक बहादुर साउद, पदम बहादुर बुढा, सचिव टँक बहादुर साउद, कपिल कुमार बुढा, सहसचिव दीपकराज थापा, डम्मर बहादुर थापा चयन भएका छन् ।
रामारोशन गाउँपालिकाको सभापतिमा मानबहादुर साउद, उपसभापतिमा मानबहादुर बटाला, मंगला खनाल, सचिवमा परेकराज देवको, टेक बहादुर बिष्ट, सह सचिवमा सुरत शाह चयन भएका छन् ।
साँफेबगर नगर सभापतिमा चार जनाको दाबी देखिएपछि सहमतिबाटै टुंग्याउने गरेर छलफल भइरहेको छ । बान्नीगढी जयगढ गाउँपालिका सभापतिमा चार जना आकांक्षी रहेकोमा सहमतिको प्रयास भइरहेको कांग्रेस अछामले जनाएको छ ।