बुटवल । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार रूपन्देहीमा भएको गाउँ तथा नगर अधिवेशनमा संस्थापन पक्ष बलियो देखिएको छ । १६ पालिका रहेको रूपन्देहीका ६ वटा नगरपालिकामध्ये संस्थापन पक्षले चारवटामा जित हासिल गरेको छ । नेता रामचन्द्र पौडेल पक्षले दुईवटामा जितेको छ ।
रूपन्देही सदरमुकाम भैरहवाको सिद्धार्थनगर नगरपालिका, गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमा, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकाको नेतृत्व संस्थापन पक्षले जितेको छ ।
तर लुम्बिनी प्रदेशको मुकाम बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा भने पौडेल पक्षले जितेको छ । बुटवल उपमहानगरमा पौडेल पक्षका खेलराज पाण्डेको प्यानलबाट एक सहसचिवबाहेक सबैले जित हासिल गरेका छन् । त्यस्तै देवदहमा पनि पौडेल पक्षका गुणखर भुर्तेलले जितेका छन् ।
संस्थापन पक्षले जितेको तिलोत्तमामा हरिलाल पाण्डे, सिद्धार्थनगरपालिकामा कोशिष खड्का, सैनामैना नगरपालिकामा रणबहादुर खनालको प्यानलले जितेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा संस्थापन पक्षका मोहम्मह सइद खाँको नेतृत्वमा सर्वसम्मतिमा नेतृत्व चयन भएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।
शनिबार नै निर्वाचन भएको रूपन्देहीको मायादेवी गाउँपालिकामा पदम भण्डारीको प्यानल विजयी भएको छ । कञ्चन गाउँपालिकामा भएको निर्वाचनमा देवीराम रेग्मीको प्यानलले जित हासिल गरेको छ । रोहिणी गाउँपालिकामा तारकनाथ योगीको प्यानल विजयी भएको छ । शुद्धोधन गाउँपालिकामा भएको निर्वाचनमा दामोदर पौडेल विजयी भएका छन् । विजयी भएका सबै संस्थापन निकट हुन् ।
यस्तै गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतिया गाउँपालिकाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै टिम निर्विरोध निर्वाचित भएका छन् ।