उहाँले आफैँले आफँैलाई हेरविचार गरिरहेको पनि बताउनु भएको छ । यसअघि ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वेरोगालाई पनि गत मंगलबार सङ्क्रमण पुष्टि भएको थियो । न्युयोर्कमै रहेका बेला उहाँलाई सङ्क्रमण पुष्टि भएकाले उहाँ अहिले न्युयोर्कस्थीत एक होटलमा एकान्तवासमा बस्नु भएको छ । त्यस बाहेक अर्का एक जना कुटनीतिज्ञ पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीले जानकारी दिएका छन् । अहिलेसम्म राष्ट्रपति बोल्सोनारो भने जोगिन सफल हुनुभएको जनाइएको छ ।
मास्क र खोपको विरोधीसमेत रहनु भएका बोल्सोनारोले महासभामा सहभागी भएका बेला पनि मास्क प्रयोग गर्नु भएको थिएन भने खोप पनि लगाउनु भएको थिएन । महासभाको बेलाका उहाँका फोटोमा पनि उहाँले मास्क नलगाउनु भएको देखिएको समाचारमा जनाइएको छ । महासभामा उहाँले कोरोनाभाइरस, यसको महामारी, मास्क, खोप, यसको व्यवस्थापनलगायतका विषयमा अरु नेताको भन्दा फरक धारणा राख्नु भएको थियो । उहाँले कोरोनाभाइरसलाई सामान्य ज्वरोका रुपमा व्याख्या गर्नु भएको थियो भने मास्क र खोपको आवश्यकता नरहेको जिकिर गर्नु भएको थियो ।
राष्ट्रपति बोल्सोनारोले खोप लगाउने ब्राजिलका जनतामध्ये आफु सबैभन्दा अन्तिम हुने जानकारी पनि महासभामा दिनुभएको थियो । उहाँकी श्रीमती मिचेलले भने महासभामा सहभागी हुन न्युयोर्क जानका लागि खोप लगाउनु भएको छ । “खोप लगाउने वा नलगाउने कुरा व्यक्तिगत छनौटको कुरा हो, उदाहरणका लागि मेरी श्रीमतीले महासभाका लागि अमेरिका आएको बेला खोप लगाउनुभयो, तर मैले भने लगाएको छैन,” राष्ट्रपति बोल्सोनारोले भन्नुभयो । कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म झण्डै छ लाखको मृत्यु भइसकेको छ भने दुई करोड १३ लाख २७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट धेरै प्रभावित देशको सूचीमा ब्राजिल तेस्रो क्रममा रहेको छ । ब्राजिलमाभन्दा धेरै क्रमशः अमेरिका र भारतमा पहिलो र दोस्रो क्रममा रहेका छन् । –––